Hamro patro Local 03

राजनीति

चुनावका कारण दसैँअघि नै गाउँमा रौनक

Posted: Thursday, Sep 14, 2017 09:26 AM ( 2 months ago )

Total Hits: 1.1 K

Share This

काठमाडौं, भदौ २९ – यसवर्ष दसैँ चाँडै परेको छ । असोज ५ गते घरघरमा घटस्थापना गरेपछि दसैँ सुरु हुन्छ । दसैँ सुरु हुनुअघि स्थानीय चुनाव भएकाले यसपाली प्रदेश नं. २ का गाउँ शहरमा दसैँअघि नै रौनक सुरु भएको छ । भोट माग्दै टोलटोलमा पुगेका नेता कार्यकर्ता तथा चौतारा र चियापसलमा चुनावकै कुरा गरेर बस्ने मतदाताको कारण गाउँटोलमा रौनक बढेको हो । काम विशेषले घर बाहिर रहेकाहरु गाउँ पुगिसकेका छन् । कतिपय चुनावको अघिल्लो दिनसम्म गाउँ पुगिसक्ने तयारीमा छन् ।

तेस्रो चरणअन्तर्गत आउँदो सोमबार स्थानीय तहको चुनावमा सहभागी हुन प्रदेश नं २ का मतदातामा उत्साहको वातावरण देखिएको हो । शहर तथा ग्रामीण क्षेत्रका विभिन्न चोक, पान पसल, चिया पसलदेखि लिएर टोल÷टोल र खेतबारीमा समेत सम्बद्ध पार्टीका उम्मेदवारको जित हारको आँकलन तथा चुनावी कुराकानीले वातावरण चुनावमय भएको छ । 

विभिन्न दलका नेता, कार्यकर्ता र उम्मेदवारले बिहानैदेखि मतदाताको घरआँगन तथा खेतबारीमा पुगेर मत माग्ने कामलाई तीव्रता दिनुका साथै चुनावी सभा र कोणसभालाई पनि त्यतिकै महत्वका साथ अगाडि बढाएका छन् । विभिन्न दलका शीर्षनेता पनि चुनावी सभा र प्रचारप्रसारमा व्यस्त देखिएका छन् । 

नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरम नेपाल, राप्रपालगायत अन्य पार्टीले पनि चुनावी सभा, सम्मेलन र प्रचारप्रसारलाई तीव्रता दिएपछि चुनावी सरगर्मी बढेको हो ।

उम्मेदवार ३६ हजार, मतदाता २६ लाख

असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि ३६ हजार ७३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख÷अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख÷उपाध्यक्ष पदमा एक हजार १३० र वडाध्यक्ष पदमा आठ हजार १८ जनाको मनोनयन दर्ता भएको छ ।

यसैगरी खुल्ला सदस्य दुई पदमा १३ हजार ७७, महिला सदस्यमा छ हजार ३६० र महिला दलित सदस्यमा पाँच हजार ७०५ जनाको उम्मेदवारी परेको छ । यो चुनावबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कूल छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । चुनावको लागि २ हजार १६६ मतदानस्थल र ३ हजार ५७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

विशेषगरी यो प्रदेशमा प्रमुख तीन दल, राजपा नेपाल, संघीय समाजवादी फोरम एवं लोकतान्त्रिक फोरम दलका उम्मेदवारले बढी मत तान्ने सम्भावना देखिएको छ । अन्य उम्मेदवारले पनि मत बटुलेर जित्न सक्दो प्रयास गरेकाले उम्मेदवारबीच कडा प्रतिस्पर्धाका साथै हारजित पनि थोरै मतले हुने आँकलन गरिएको छ ।

३०, ३१ र असोज १ मा मतदाता परिचयपत्र

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको चुनावका लागि यही भदौ ३० देखि आउँदो असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ । २ नम्बर प्रदेशका २६ लाख ६४ हजार ७ सय ९२ मतदातालाई मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मतदाता परिचय पत्र लिन आउँदा मतदातालाई मतदान गर्ने तरिका सिकाउने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले असोज २ गते हुने चुनावमा मत बदर नहोस् भनेर एक हजारभन्दा बढी ठाउँमा नमुना मतदानको कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

गैरसरकारी संघ संस्थामार्फत पनि यस पटकको चुनावमा मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन शिक्षालाई व्यापक बनाउन तीन हजार ५ सय मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ । निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको आयोगले जनाएको छ ।

मतदाताको लागि सेनाद्वारा बाटो मर्मत

गएको साउन महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित आठ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरू मर्मत काम सकिएको छ । मतदातालाई मतदान केन्द्रहरूसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरू सुरु गर्न स्थानीय निकायहरूसँगको सहकार्यमा नेपाली सेनाले मर्मत तथा स्तरोन्नति कार्य सकिएको जनाएको छ ।

सेनाले पर्सा जिल्लाका चार ठाउँमा एक किलोमिटर सडक र एउटा कल्भर्ट, बाराको पाँच ठाउँमा सात किलोमिटर सडक, रौतहटको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न ठाउँमा चार किलोमिटर सडक र एउटा पुल, सर्लाहीको चक्रघट्टा गाउँपालिका, बलरा नगरपालिकाको विभिन्न १४ स्थानमा १५ किमि सडक र तीनवटा कल्भर्ट, महोत्तरीको लोहरपट्टि गाउँपालिकाको चार किमि सडक, दुईवटा पुल र तीनवटा कल्भर्ट, धनुषाको जनकपुर उपमहानगरपालिका र ककनपट्टिको विभिन्न १० ठाउँमा ७२७ मिटर सडक र तीन कल्भर्ट, सिरहा जिल्लाको विष्णुपुर, बरियापट्टि गाउँपालिका तथा गोलबजार र सुखीपुर नगरपालिकाको विभिन्न २० ठाउँमा तीन किमि सडक र १० वटा कल्भर्ट, र सप्तरीको शंखरापुर, तिगाढी–कोइलाढी, रुपनी, तिरहुत, खडक, डाक्नेश्वरी र राजविराज नगरपालिकाको आठ ठाउँमा पाँच किमी सडक मर्मत तथा स्तरोन्नति सकिएको जनाएको हो । 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments