Hamro patro Local 03

समाज

प्रहरीको फन्दामा परेका डरलाग्दा गाँजा तस्कर : पाँच नाम, चार मुद्दा

Posted: Wednesday, Sep 13, 2017 11:32 AM ( 2 weeks ago )

Total Hits: 12.6 K

Share This

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, भदौ २८ – विगत पाँच वर्षदेखि मकवानुर प्रहरीको टाउको दुखाई बन्दै आएका थिए सागर पाख्रिन । उनलाई गाउँलेले फोरम भनेर चिन्छन् । उनका ग्याङका साथीले कुमार भन्छन् । प्रहरीले टार्जन र बाँदर भन्छ ।पाख्रिन मकवानपुर प्रहरी प्रमुख भएर पुग्ने सबैजसो एसपीको टाउको दुखाई हुन् । पाख्रिनले आफ्नो घरलाई बन्दुक, बारुद, गाँजा, छर्रा, गोलीको गोदाम बनाएर राखेका थिए ।

बन्दुक तेर्साएर गाँजाको व्यापार गर्थे । सुराकी गर्नेलाई मार्थे । प्रहरीमाथि नै गोली बर्साउँथे ।

उनै पाख्रिन अहिले मकवानपुर प्रहरीको हिरासतमा छन् ।

यसरी पक्राउ परे

मकवानपुरको मनहरि गाउँपालिकाको नयाँ वस्तीमा गएको चैत १५ गते गाँजा तस्कर र प्रहरीबिच गोली हानाहान भएको थियो ।

भारत निकासी गर्न लागिएको गाँजासहित तस्करहरुलाई पक्राउ गर्ने क्रममा गाँजा तस्करले प्रहरीमाथि गोली चलाएका थिए । प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । त्यसबेला सात क्वीन्टल गाँजा, ३५ किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । तर गाँजा तस्करका मुख्य नाइके सागर पाख्रिन फरार थिए । त्यसबेला मकनापुरका प्रहरी प्रमुख एसपी मिरा चौधरी हुनुहुन्थ्यो ।

चौधरीको टिमले पाख्रिनलाई पक्राउ गर्न तीन पटकसम्म प्रयास गरेको थियो । तर उनी सजिलै उम्केका थिए । अहिले मकवानपुर प्रहरीले पक्रनुमा ठूलो सफलता भएको चौधरीले बताउनुभयो ।

चौधरीभन्दा अघिका मकवानपुर प्रहरी प्रमुखले पनि उनलाई पक्राउ गर्न खोजे तर सकेनन् ।

तीन पाख्रिनलाई मकवानपुर प्रहरी र काठमाडौं प्रहरी मिलेर भदौ २४ गते पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ झ्याप्ले खोलामा भेष बदलेर ज्यामी काम गर्ने र उतैबाट गाँजाको सप्लाई गर्न थालेका पाख्रिन । यही सूचनामा मकवानपुर प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेको हो । ‘यो काठमाडौं र मकवानपुरको सीमानामा बसेर भेष बदल्दै, बन्दुक तेर्साएर गाँजाको सप्लाई गर्‍थ्यो । सादा पोशाकमा खटिएको प्रहरीले पक्राउ गर्यो’ मकवानपुरका डिएसपी दिलिपराज झाले भन्नुभयो ।

यस्तो छ पाख्रिनको कर्तुत

मकवानपुरका पहाडी भेगका धेरै ठाउँमा अवैध गाँजा खेती हुने गरेको छ । यसरी उत्पादित गाँजालाई भारतसम्म पुर्याउने काम ३६ वर्षे पाख्रिनले गर्दै आएको प्रहरीको अनुसन्धान छ । मकवानपुरको साविकको नामाटार–६ का स्थानीय बासिन्दा हुन् पाख्रिन । उनले नामाटारमा आतंक मच्चाएका थिए । प्रायः डुलिरहने उनी हतियार लिएर गाउँ पुग्थे । गाउँलेलाई त्रसित बनाउँथे । उनलाई गाँजा तस्कर, डन र हत्याराका रुपमा गाउँले चिन्दै आए पनि डरले प्रहरीलाई खबर गर्न सकेका थिएनन् ।२०६७ साल फागनु ३ गते राती पाख्रिनले गाँजा भारततर्फ सप्लाई गर्न लागेका थिए । हाँडीखोला गाविस–७ मुलखोला हुँदै भारततर्फ गाँजा सप्लाई गर्न लागेको बेला स्थानीय ६२ वर्षे ठुलीमाया थिंङले थाहा पाएर कराएकी थिइन् । ठुलीमायालाई घरभित्रै गई ‘तँ हल्ला गर्ने’ भन्दै गोली हानी हत्या गरेका थिए । त्यसपछि पाख्रिन बिरुद्ध कसैले बोल्न सकेका थिएनन् ।

गएको वैशाख ३ गते पाख्रिन घरमा आएको सूचना मकवानपुर प्रहरीकोमा आएको थियो । प्रहरी आउँदैछ भन्ने सुँइको पाएपछि पाख्रिन फरार भएका थिए । ‘हामीलाई ठाउँ नयाँ, कहाँबाट कता जाने त्यति पत्तो पनि भएन । यो त बाँदर जस्तै रछ । भिरपाखा डाँडाकाँडा केही भन्दैन् । शरीर पनि त्यस्तै छरितो भेट्नै सकिएन’ त्यसबेला पाख्रिन उम्किएको घटना सुनाउँदै डिएसपी झाले भन्नुभयो ।

पाख्रिन फरार भएपनि प्रहरीले उनको घरबाट कटुवा पेस्तोल दुई वटा, भरुवा बन्दुक एक वटा, गोली एक वटा, दुई सय ग्राम बारुद, ६ सय ५० ग्राम छर्रा, २० किलो गाँजा र सालकको खपटा बरामद गरेको थियो । यति धेरै सामान बरामद गरेपछि प्रहरीले थाहा पाएको थियो, पाख्रिनले घरलाई बन्दुक, गोली र छर्राको गोदाम बनाएको रहेछ ।

पाँच नाम, चार मुद्दा

 नागरिकताको नाम सागर पाख्रिन । ग्याङका साथीले बोलाउने नाम कुमार । गाउँलेले फोरम भनेर चिन्छन् । प्रहरीले टार्जन र बाँदर नाम राखेका थिए । प्रहरीमाथि नै गोली बर्साएपछि उनलाई टार्जन भनिएको थियो ।

बाँदर जस्तै भिरपाखा, डाँडाकाँडा कुदेर भागेकाले प्रहरीले उनलाई बाँदर उपनाम राखिदियो । यी पाँच वटा नामले परिचित पाख्रिनमाथि चार वटा मुद्दा लागेको छ ।

उनको घरबाट हातहतियार बरामद गरेकाले हातहतियार तथा खरखजना मुद्दा, गाँजा खेती गर्ने र ओसारपसार गरेकाले लागुऔषध मुद्दा, एक वृद्धाको हत्या गरेकाले ज्यान मुद्दा र सालकको खपटा भेटिएकाले अखेटोपहार मुद्दामाथि अनुसन्धान भइरहेको छ ।

 

 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments