Hamro patro Local 03

समाज

ठाडोभाका शिरोमणि भेँडीखर्के साइँलाको बिदाई, गायिका बिमाकुमारी दुरा डाको छोडेर रोइन्

Posted: Tuesday, Sep 12, 2017 19:18 PM ( 2 weeks ago )

Total Hits: 27.5 K

Share This

श्यामशितल परियार/उज्यालो ।   

लमजुङ, भाद्र २७ – ठाडोभाका शिरोमणि भेडीखर्के साइँला अर्थात् दीर्घराज अधिकारीको हिन्दु परम्पराअनुसार मंगलबार अन्त्येष्टी गरिएको छ । लमजुङको पाउँदी दोभानस्थित मस्र्याङ्दी नदी किनारमा रहेको आर्यघाटमा उहाँको अन्त्येष्टी गरिएको हो । उहाँका छोरा गंगाप्रसाद अधिकारीले पार्थिव शरीरमा दागबत्ती दिई अन्त्येष्टी गर्नुभएको हो । 

साइँलाको ८४ वर्षको उमेरमा लमजुङको सुन्दरबजार नगरपालिका-६, स्थित सुन्दरबजारमा सोमबार बेलुका साँढे ५ बजे निधन भएको हो । उहाँ लामो समयदेखि दम रोगबाट ग्रसित हुनुहुन्थ्यो । ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङका संरक्षकसमेत रहेका भेडीखर्के साइँला जेठी छोरी लीला र ज्वाई शम्शेर लौडारीका साथमा सुन्दरबजारमा बस्दै आउनुभएको थियो । 

मंगलबार बिहान ७ बजेदेखि साँढे एघार बजेसम्म भेँडीखर्के साइँलाको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि सुन्दरबजारको मिलन चोक स्थित प्रतिक्षालयमा राखिएको थियो । त्यसलगत्तै शव यात्रा निकालिएको थियो । शव यात्रा सुन्दरबजारको मिलनचोकबाट सुरु भई नमूना टोल, क्याम्पस चोक, आवास क्षेत्र, सिउँडीबार, फूलबारी हुँदै पाउँदी स्थित आर्यघाटमा लगिएको थियो ।  

उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न सांसद एवम् ठाडोभाका लोककला प्रतिष्ठान नेपालका सल्लाहकार जमीन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी युवराज मैनाली, सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्र, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट, ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीसहित उहाँका शुभेच्छुकहरु पुगेका थिए । 

साइँलाका ज्वाइँ शम्शेर लौडारीका अनुसार पार्थिव शरीरमा नेपाली कांग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सभापति बृषराज गुरुङ, कांग्रेसका पूर्वजिल्ला सचिव आनन्द घिमिरेले पार्टीको झण्डा ओढाएका थिए ।  ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले प्रतिष्ठानको झण्डा ओढाउनुभएको थियो । यस्तै, सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रले राष्ट्रिय झण्डा ओढाएर उहाँको अन्तिम बिदाई गर्नुभएको हो ।  

साइँलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट आउनु भएकी वरिष्ठ लोक गायिका बिमाकुमारी दुरा डाँको छोडेर रुँदा सबैलाई स्तब्ध बनाएको थियो । विसं १९९० भदौ २९ गते बुबा बलभद्र अधिकारी र आमा नन्दकुमारी अधिकारीको कोखबाट साबिक सिन्दूरे गाविस–६, दुराडाँडा लमजुङमा जन्मिनुभएको हो । स्व. अधिकारीका श्रीमती, एक छोरा, तीन छोरी र चार नाती चार नातिनी र एक नातिनी बुहारी हुनुहुन्छ ।    

रहनेन् ठाडो भाका शिरोमणि भेँडीखर्के साइँला

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments