Hamro patro Local 03

समाज

सूचना लुकाएको भन्दै जिल्ला प्रहरी प्रमुखसहित तीन जनालाई विभागीय कारवाही

Posted: Tuesday, Sep 12, 2017 18:40 PM ( 2 weeks ago )

Total Hits: 3.0 K

Share This

दाङ, भदौ २७ – संघीय प्रहरी इकाइ कार्यालय तुलसीपुर दाङले नागरिकलाई सूचना लुकाएको भन्दै जिल्ला प्रहरी प्रमुखसहित तीन जनालाई विभागीय कारवाही गर्ने जनाएको छ । 

संघीय प्रहरी इकाइ कार्यालय तुल्सीपुर दाङले मंगलबार तुल्सीपुरमा पत्रकार सम्मेलन गरी वडा प्रहरी कार्यालय लमहीको नियन्त्रणमा रहेको समयमा थुनुवा ब्यक्तिको ज्यान गएको निष्कर्ष निकाल्दै सूचना लुकाउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंह, वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्का र थुनुवा कक्षका इञ्चार्जलाई विभागीय कारवाही हुने जनाएको छ ।

एआईजी मिङ्गमार लामाले पत्रकार सम्मेलनमा प्रहरी नियन्त्रणमा ब्यक्तिको ज्यान गएको सूचना लुकाएर प्रहरीले गल्ती गरेको स्वीकार गर्दै घटनामा संलग्न अधिकारीमाथि विभागीय कारवाहीको लागि सिफारिस गर्ने बताउनु भयो । वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी नियन्त्रणमा रहेका ब्यक्तिको ज्यान गएको घटनालाई गुप चुप राखेर ज्यान गएका ब्यक्तिको शवलाई बेवारीसे अवस्थामा फेला परेको भन्दै घटना सार्वजनिक गरेको थियो ।

प्रहरी नियन्त्रणमा रहेका ब्यक्तिको ज्यान गएको र घटनालाई लुकाउन शवलाई वेवारीसे बनाइएको विषयमा प्रमाणसहित समाचार सार्वजनिक भएपछि संघीय इकाइ प्रहरी कार्यालय तुलसीपुरले एसएसी दिलीप चौधरीलाई सत्य तथ्य पत्ता लगाउन जिम्मा दिएको थियो ।

एसएसपी चौधरीले घटनाको विषयमा अध्ययन अनुसन्धान गरी प्रहरी अधिकारीहरुबाट प्रहरी नियन्त्रणमा ज्यान गएका ब्यक्तिको सूचना लुकाएर गलत काम गरेको निष्कर्ष निकालेको हो । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरी नियन्त्रणमा रहेका ब्यक्तिको ज्यान चौपट्टामा गएको भन्दै फेसवुक मार्फत सूचना प्रवाह गरेको थियो ।

आफन्तहरु सम्पर्कमा नआएपछि भदौ १६ गते घोराही उपमहानगरपालिकाको जिम्मा लगाएर अन्तिम संस्कार गरिसकिएको थियो । तर वेवारीसे अवस्थामा ज्यान गएका ब्यक्ति प्रहरी नियन्त्रणमा रहेको र प्रहरीलेनै घटना लुकाउन वेवारिसे अवस्थामा शव फेला परेको भन्दै प्रचार गरेको तथ्य फेला परेपछि घटना बाहिर आएको हो ।

चोरीको आरोपमा छानविन गर्न घोराही–१४ का गंगटे उपनामले चिनिने देव बहादुर बिकलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले भदौ १२ गते नियन्त्रणमा लिएको थियो । ति ब्यक्तिको भदौ १४ गते प्रहरी नियन्त्रणमा ज्यान गएको थियो । प्रहरीले ज्यान गएको कुरा लुकाएर शवलाई वेवारिसे बनाएर घटना लुकाउन खोजेको थियो ।

भदौ १३ गते लमही अस्पतालमा मेडिकल जाँचको क्रममा ति ब्यक्तिलाई लगिएको थियो । हात पछाडी बाँधेर हत्तकडी लगाएको अवस्थामा फोटो सार्वजनिक भएपछि प्रहरीले घटना लुकाएको प्रमाणित भएको हो  ।

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments