Hamro patro Local 03

समाज

‘ठगी खाने भाँडो बनेको वैदेशिक रोजगार अब ट्र्याकमा ल्याउँछु’

Posted: Tuesday, Sep 12, 2017 18:06 PM ( 2 months ago )

Total Hits: 4.4 K

Share This

फरमुल्ला मंसुर/श्रम तथा रोजगार मन्त्री । 

काठमाडौं, भदौ २७ – वैदेशिक रोजगारीमा जाने नेपाली सुरक्षित, मर्यादित र अत्याधिक लाभ लिनेगरि जाउन् भन्ने मेरो उदेश्य हो । मैले श्रम तथा रोजगार मन्त्रालय सम्हालेपछि मन्त्रालयले त्यहि अनुसार काम पनि अगाडी बढाएको छ । 

जुन अहिले कानून उलङ्घन गरेर ठग्ने काम भैरहेको छ । यो हामीलाई पनि थाहा छ । कसरी ठगीरहित बनाउने भन्ने विषयमा काम गरिरहेका छौं । वैदेशिक रोजगार ऐन, २०६४ संशोधनको चरणमा छ । डेढ हप्ताभित्रमा मन्त्रालयबाट अगाडी बढ्छ । अहिले पनि मन्त्रालयको टिम अन्तिम ड्राफ्ट तयार गर्न लागिरहेको छ । ढिलोमा असोजको पहिलो हप्ता मन्त्रालयले संशोधित ऐनको ड्राफ्ट संसदमा पेश गर्ने तयारी गरेको छ । त्यसपछि अहिले देखिएका समस्या समाधान हुन्छ । 

फ्रि भिसा, फ्रि टिकट हामीले कार्यन्वयन गराउन सकेका छैनौं । यो निर्णय गरिबको पक्षमा छ । खाडीका देश र मलेसियामा दुई वर्ष पहिले नै यो निर्णय भएको हो । तर अहिले पनि ती देशमा जाने कामदारले घरजग्गा साहुलाई बुझाएर म्यानपवार कम्पनीलाई बुझाउन ३६ प्रतिशत ब्याजमा ऋण काड्नु पर्ने अवस्था छ । उनीहरुलाई सहज होस् भनेर यो निर्णय आएको हो । तर जसका लागि निर्णय गरिएको थियो उनीहरुका लागि हुन सकेन । यसको लाभ पनि म्यानपावर र दलालले नै उठाए । यो हाम्रो कमजोरिले भएको हो ।

अहिले फ्रि भिसा, फ्रि टिकटकाे निर्णय परिवर्तन गर्न लागिएको त हैन भन्ने शंका गरिरहेका छन् । मेरो नाममा कसैले बोलिदिएको छ भने म जान्दिन । तर मैले बोलेको छैन र यो निर्णय अब कडाइका साथ कार्यन्वयन हुन्छ ढुक्क हुनुहोस् । यो निर्णय गरिव नागरिकको पक्षमा छ । यसलाई कार्यन्वयन गराउनु मेरो दायित्व हो । म जसरी पनि कार्यन्वयन गराएर छाड्छु । पहिल्यै गराउनु पथ्र्यो गराएनन् किन गराएनन् थाहा भएन ।  अहिले निर्णय उलंघन गर्नेलाई कडाइकासाथ कारबाही गरिरहेका छौं । जानकारी पाएसम्म कारबाही गरेरै छाड्छौं । 

यस्ता १२ सय उजुरी वैदेशिक रोजगार विभागमा थन्किएर बसेका छन् । अबको एक महिना भित्रमा ती उजुरीका पीडितलाई न्याय दिलाउन मैले विभागमा निर्देशन दिएकमो छु । विभाग केहि समयदेखि क्रियाशिल पनि छ । अनुगमन गरेर कारबाही गर्न थालिएको छ । 

जेलमा रहेकालाई कानूनि सहयोग, बिरामीलाई नेपाल ल्याइने 

देशको अर्थतन्त्रमा वैदेशिक रोजगारीको ठूलो योगदान छ । आफ्ना नागरिकको पछाडि जहिले पनि राज्य उभिनुपर्छ । हाम्रा नागरिक विदेशमा अप्ठेरोमा परे मुद्दा लड्न सघाउँछौं । त्यसका लागि निशुल्क कानूनि सहयोग गर्न वकिल राख्ने व्यवस्था गरेका छौं । आपतमा परेकालाई दूतावासको सेल्टरमा राख्छौं । उद्दारका लागि केहिदिन अघि मात्रै विभिन्न देशमा रकम पठाएका छौं ।

विदेशका अस्पतालमा ५० भन्दा बढी नागरिक छन् । उनीहरुलाई नेपालमै फर्काएर उपचार गराउने व्यवस्था मिलाउँछौ । तत्काल १५/२० जनालाई नेपाल ल्याउँदैछौं । यस्ता निर्णय म आएपछि मात्रै गरिएका हैनन् । तर पहिले जतिले लाभ पाउनु पर्ने हो पाउन सकेनन् । यसअघिका कमजोरीलाई हेरेर ऐनमा पनि सुधार गर्दैछौं । अवको ऐन कामदार मैत्री हुन्छ । नियम र पद्धति बसालेपछि बेथिति समाप्त हुन्छ । 

लुकाउनु पर्ने कुरै छैन । अहिले वैदेशिक रोजगार ठगी खाने भाँडो भएको छ । विभिन्न खाले गिरोह सक्रिय भएका छन् । कोहि भिजिट भिसामा लान्छन् र ठग्छन् कोहि भारतको बाटो हुँदै विभिन्न देशमा पुर्‍याएर अलपत्र पार्छन् । म्यानपावरले मात्रै होइन म्यानपावर दर्ता नगरेका पनि रोजगारीमा पठाउँछु भन्दै ठग्छन् ठगीले सिमा नाघिसक्यो । 

राम्रो काम गर्नेलाई पुरस्कृत गर्छु । तर ठगी खाने भाँडो बनाउन दिन्न । दण्डीत गर्छु । 

गन्तव्य देशसँग श्रम सम्झौता

म मन्त्रालयमा आउनुभन्दा पहिलेदेखिनै घरेलु कामदार रोकिएको छ । श्रम सम्झौता गरेर मात्रै पठाउने भनेका छौं । नेपाली धेरै रहेका देशमा श्रम सम्झौताका लागि पत्राचार गरिसकेका छौं । हाम्रो तर्फबाट मस्यौदा पुगिसकेको छ । हामी उनीहरुको जवाफ पर्खिरहेका छौं । जोर्डनसँग भदौ २५ गते श्रम सम्झौताको तयारी भएको थियो । तर अन्तिम समयमा उसले दुईवटा बुँदामा सुधार खोजेको छ । सहमती गरेका विषयमा पछि नहट्न हामीले भनेका छौं र मलाई लाग्छ छिट्टै सम्झौता हुन्छ । 

महिला घरेलु कामदार हिंसाका सिकार भएको जानकारी पाएरनै सम्झौता नभएका देशमा नपठाउने पनिर्णय गरेको हो । त्यसपछि ती देशले श्रम सम्झौतामा तदरुक्ता देखाइरहेका छन् । अवैध रुपमा जानेक्रम भने रोकिएको छैन । हामीले गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधि रहेको समिति बनाएर त्यसलाई रोक्ने उपायबारे अध्यन थालेका छौं । 

२० वर्ष देखि चर्चामा रहेको श्रम ऐन पारित भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पारित भएको छ । हामीले काम गरिरहेका छौ । श्रम स्वीकृतिलाई थप सहज बनाउन सातवटै प्रदेशमा श्रम कार्यलय खोल्ने तयारी गरेका छौं । दुई महिना भित्रमा दुई नम्बर प्रदेशमा श्रम कार्यालय सञ्चालमा आउँछ । दूतावासबाट पनि पुनः श्रम स्वीकृति दिने व्यवस्था हुन्छ । 

फर्किने कामदारको डाटा राख्न सफ्टवेयर तयार भैरहेको छ । अहिले हाम्रा नागरिक कहाँ कति छन् भन्ने समेत तथ्याँक छैन । परराष्ट्र मन्त्रालयले पासपोर्ट वितरण गर्नासाथ अब गृह र श्रम तथा रोजगार मन्त्रालयले पनि थाहा पाउनेछन् । 

मैले नागरिकको हितमा काम गर्ने जुन जिम्वेवारी पाएँ त्यो पुरा गर्छु । अहिलेसम्म नागरिकको हितमा नहुने काम गरेको छैन र अव पनि गर्दिन । तपाईंहरुले मुल्याँकन गर्दा हुन्छ । 

(श्रम तथा रोजगार मन्त्री फरमुल्ला मंसुरसँग उजिर कार्कीले गरेको कुराकानीमा आधारित)

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments