Hamro patro Local 03

समाज

मलेसियाबाट फर्क भन्दा बिक्रम भन्छन्, आमा मलाई घरको याद आउँदैन

Posted: Tuesday, Sep 12, 2017 17:46 PM ( 2 weeks ago )

Total Hits: 9.4 K

Share This

सन्जिता देवकोटा/उज्यालो ।

काठमाडौं, भदौ २७ – मध्यान्हको १२ बज्न लागेको थियो । बाटो छेवैको घर भएकाले त्यो बाटो हुँदै हिँड्ने बटुवाहरुले गरेका कुराकानी प्रष्टै सुनिन्थ्यो । चर्को घाम लागेकाले शितल तापिरहेका थिए धादिङको जिवनपुर ९ गोलढुंगाका रामबहादुर र मिठु सुनार ।

‘रामबहादुर सुनारको घर कुन हो,’ बाटोबाट अपरिचित मानिसले सुनार दम्पत्तिलाई सोधे । यही हो भन्दै अपरिचितलाई घरैमा बोलाउनुभयो मिठुले ।

कहिल्यै नदेखेका नचिनेका मानिस आफूलाई खोज्दै किन आए भनेर रामबहादुर छक्क पर्नुभयो । नयाँ मान्छे घर खोज्दै आएपछि मिठु पनि आत्तिनुभयो । कति कामले पाल्नुभयो, रामबहादुर त म हुँ, रामबहादुरले श्रीमती मिठुलाई सम्हाल्दै सोध्नुभयो । 

‘त्यस्तो केही हैन, थोरै काम छ,’ नचिनेका उनी मुस्कुराउँदै बोले । तर मिठु र रामबहादुरको हातगोडा काँपे । उनले परिचय दिएपछि आत्तिएको मन त शान्त भयो । तर घरमा आइपुगेको खबरले छाँगाबाट खसे झैं भए मिठु र रामबहादुर ।

अपरिचितले ल्याए छोरो जेलमा रहेको खबर 

रामबहादुर दम्पत्तिलाई अपरिचित लागेको मानिस दोलखाको चरिकोटका सन्तबहादुर बिक रहेछन् । उनी जेलमा रहेका बिक्रम अर्थात रामबहादुर र मिठुका जेठो छोराको खबर बोकेर आएका रहेछन् । बिक्रम र सन्तबहादुर मलेसियाको जेलमा साथी बनेका रहेछन् ।

बिक्रम मलेसिया गएको ११ वर्ष भयो । अहिलेसम्म फर्किएका छैनन् । उनी गएको माघदेखि परिवारको सम्पर्कमा थिएनन् । बेलाबेलामा फोन गरिरहने छोराले एक्कासी फोन गर्न छाडेपछि आत्तिरहेका मिठु र रामहादुरलाई छोराले फोन नगर्नुको कारण थाहा भयो ।

घर नर्फके पनि बेलाबेलामा फोन गरिरहने छोरा एक्कासी जेल परेको खबर सुन्दा मिठुलाई सपना झैं लाग्यो । त्यो पनि पराइ मान्छेले त्यसरी खबरलिएर आउँदा उहाँलाई छोरालाई जेलमा निकै समस्यामा छ भन्ने लाग्यो । 

बिक्रम र सन्तबहादुर झण्डै पाँच महिनासँगै जेलमा बसेका थिए । सन्तबहादुर जेल सजाय कटाएर घर फर्कंदा बिक्रमले परिवारमा खबर पुर्‍याइदिन भनेकाले सन्तबहादुर घर खोज्दै गोलढुंगा पुगेका थिए ।

छोराको खबर सुनेपछि रामबहादुर र मिठुको परिवारमा आपत आइलाग्यो । २२ वर्षको उमेरमा परदेशिएका छोरा फर्केला भन्ने आशमा बसेका उनीहरुलाई जेल परेको खबर सहीसक्नु भएन । जेलबाट ८ महिनामा छुट्छ भन्ने खबर पनि उनै सन्तबहादुरले दिए । माघदेखि हिसाव गर्दा बिक्रम जेलबाट छुट्ने समय भयो । तर अहिलेसम्म केही खबर आएको छैन । 

बिक्रम हिँडेदेखि परिवारमा कहिल्यै शान्ति भएन । कमाउन गएका बिक्रमले ११ वर्ष बित्दा पनि एक पैसा पठाएनन् । विदेश जाने बेलामा काढेको एक लाख १३ हजार ऋण पनि रामबहादुरले नै तिर्नुभयो । 

बिक्रमले बेलाबेलामा फोन गर्थे । परिवारले घर फर्कनका लागि धेरै अनुरोध गरे । बिक्रमले आउँदिन कहिल्यै भनेनन् । आफ्नो समस्या पनि बताएनन् । तर ११ वर्ष बित्दा पनि फर्किएनन् । 

भाइको मृत्युमा पनि बिक्रम घर फर्किएनन्

बिक्रमका भाइ युएई जाने तयारीमा थिए । सबै प्रक्रिया पूरा पनि गरिएको थियो । तर युएई उड्नु एक हप्ता अघि गाडी दुर्घटनामा विक्रमका भाइको निधन भयो । 

जेठो छोरा विदेशबाट फर्किएन । घरमा भएको छोरा पनि बितेपछि मिठुका आँखा ओभाएका छैनन् । टिलिक्क टल्कने खुकुरी बनाउने रामबहादुरको मन छियाछिया भयो । बिक्रमले भाइको मृत्यु भएको खबर थाहा पाए पनि फर्किएनन् । 

छोरा बितेपछि रामबहादुरलाई काम गर्दा गर्दै बेहोस हुने, रातमा निद्रा नपर्ने जस्ता समस्या देखिन थाले । श्रीमानलाई यस्तो समस्या भएपछि मिठुले बिक्रमलाई घर आउन निकै अनुरोध गर्नुभयो । तर बिक्रमले दिएको जवाफले मिठुको छोरा फर्कने आशा मर्‍यो । ‘आमा मलाई तपाईंहरुको याद आउँदैन । मलाई घर आउनै मन लाग्दैन भनेर रोयो,’ मिठुले रुँदै भन्नुभयो, ‘भाइ बितेपछि त झन मलाई घरको याद नै आउदैन भन्थ्यो ।’

सन्तानले याद आउँदैन भनेपछि कुन आमाको मन रुँदैन र । तर पनि भाइको मृत्युले बिरक्तिएको होलाकि भन्ने मिठुले सोच्नुभयो । तर भाइ बितेको ७ वर्ष बित्दा पनि बिक्रम फर्किएनन् । 

मर्ने त मरेर गयो, बाँच्नेले रुवायो

छोरो जेलबाट छुट्ने दिन कुर्दै बसेका मिठु र रामबहादुरले अहिले उद्वारका लागि काठमाडौंको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)मा अनुरोध गरेका छन । समितिमै आएका बेला भेटिएका उहाँहरुको अनुहार निन्याउरो थियो । छोरा नफर्कनुको पिडा अनुहारमा प्रष्ट देखिन्थ्यो । 

बिक्रमका कुरा गर्ने बित्तिकै मिठुका आँसु झरे । सन्तान गुमाउनुको पीडामा पिल्छिएकी मिठु अर्को छोरापनि गुमाउनु पर्ने हो कि भन्ने चिन्ताले आत्तिनुभएको छ । ५६ वर्ष लागेकी मिठुलाई जसरी पनि छोरा नेपाल फर्किएको हेर्न मन छ । एक छोरीको पनि बिहे भैसकेकाले उहाँहरुको साहरा भनेको बिक्रमबाहेक अरु छैनन् ।

कान्छो छोरा बितेपछि आँखा नओभाएकी मिठुको आँसु पुछ्न बिक्रम नै फर्कन पर्छ । जेलमा परेका बिक्रम जेलमै छन वा छुटे भन्ने जानकारी छैन । मैले सन्तानबाट सुख पाइन । ‘मर्ने त मरेर गयो बाँच्नेले झनै रुवायो,’ मिठुले दुवै हातले गालाका आँसु पछ्नुभयो अनि भन्नुभयो, ‘बाबु तँ बाहेक हाम्रो कोही छैन । जसरी नि घर आइज ।’ 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments