Hamro patro Local 03

समाज

नारायणगढ मुग्लिन सडक भोलिदेखि बन्द नहुने, सूचना दिन ठाउँ ठाउँमा डिजिटल बोर्ड

Posted: Tuesday, Sep 12, 2017 17:15 PM ( 2 months ago )

Total Hits: 3.8 K

Share This

राधेश्याम खतिवडा/उज्यालो । 

चितवन, भदौ २७ – हरेक दिन रातको समयमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक खण्ड भोलिबाट खुला हुने भएको छ । दसैँ, तिहार पर्वमा यात्रुलाई सहज रुपमा यात्रा गराउन चौबीसै घण्टा सञ्चालनमा ल्याउन लागिएको हो । सडकको अवस्था बताउन सूचना दिन ठाउँ ठाउँमा डिजिटल सूचना बोर्ड राखिएको छ । 

बर्षाका कारण पहिरो खस्ने समस्या बढेपछि गएको असार २५ गतेदेखि रातका समयमा सडकमा यातायत बन्द गरिएको थियो । मुग्लिनतर्फबाट आउने सवारीलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको थियो ।

चाडपर्वलाई ध्यानमा राखेर रातको समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चाडपर्वको अवधीमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने बताउनुभयो । यात्रुवाहक सवारीसाधनको चापलाई हेरेर राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबाटारमा रोकिने छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले चाडपर्वमा सवारी चाप बढ्ने भएकोले सडक खण्डमा सवारी चाप कम गरी यतायात सहज बनाउने तयारी गरिएको जानकारी दिनुभयो । 

चाडपर्वको अवधीमा सडकमा खाल्डाखुल्डी पुर्ने, पानी छर्कने, निर्माण समाग्रीका कारण सडक अवरोध नगर्ने तयारी भएको बताउँदै  नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले निर्माण कम्पनीहरुले यो अवधीको लागि निर्माणको कामभन्दा यात्रुमैत्री भएर काम गर्ने बताउनुभयो । 

ठाउँठाउँमा डिजिटल सूचना बोर्ड

नारायाणगढ मुग्लिन सडकखण्डमा यात्रा गर्न लागेकाहरुको जिज्ञासा समाधान गर्न  आयोजनाले ठाउँठाउँमा डिजिटल सूचना बोर्ड राखेको छ । सडकखण्डमा बाटो बन्द छ वा खुला छ जस्ता जानकारी बोर्डमा देखिने छ ।

सात स्थानमा डिजिटल सूचना बोर्ड राख्ने तयारी भएपनि अहिलेसम्म ५ स्थानमा सूचना बोर्डहरु राखिएको जानकारी दिाँदै आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले  काठमाडौं नागढुंगामा दुई महिनाअघि नै राखिएको र नारायणगढ–आँपटारी, मुग्लिन र हेटौडामा राखिएको जानकारी दिनुभयो । नौबिसे, पथलैया र बुटबलमा पनि यस्तो सूचना बोर्ड राखिने भएको उहाँले बताउनुभयो ।

आयोजनाका अधिकारीहरुले इन्टरनेट भएको ठाउँबाट मोबाइल फोन सेट वा कम्प्युटरको मद्धतले जानकारीहरु प्रवाह गर्ने छन् र त्यही सूचना सौर्य उर्जाबाट चल्ने बोर्डमा देखिने छ । सातवटै बोर्डका लागि एकै खालको वा फरकफरक सूचनाहरु राख्न मिल्ने सुविधा भएको खनालले बताउनुभयो । 

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको बनाउन विस्तारको काम भइरहेको छ । सडक फराकिलो बनाउने क्रममा पटक पटक बन्द हुदै आएको छ । त्यसैले ठाउँठाउँमा सूचना बोर्ड राखेर तत्कालको तत्कालै सूचना प्रवाह गर्दा  यात्रुलाई सडकमा यात्रा गर्ने वा नगर्ने योजना बनाउन सहयोग पुगेको छ । 

सडकखण्ड सामान्य रहेको अवस्थामा वोर्डमा ट्राफिक नियम पालना सम्बन्धी सूचनाहरु राखिने गरिएको छ । सूचना बोर्डको आयु कम्तीमा १० वर्षको हुने खनालले जानकारी दिनुभयो । एउटा सूचना बोर्ड राख्न २२ लाख रूपैयाँ खर्च भएको बताउदै खनालले सूचना बोर्डका लागि मात्रै एक करोड ५४ लाख रूपैयाँ खर्च भएको जानकारी दिनुभयो । 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments