Hamro patro Local 03

समाज

धादिङ दुर्घटना : दुईको मृत्यु, सरकारी अस्पताल पठाएका घाइते निजीमा लगियो

Posted: Tuesday, Sep 12, 2017 14:00 PM ( 2 months ago )

Total Hits: 6.5 K

Share This

सीताराम अधिकारी/उज्यालो ।

धादिङ, भदौ २७ – धादिङको विशालटार नजिकैै मंगलबार बिहान भएको दुर्घटनाका घाइते मध्ये दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । 

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहकाअनुसार घाइते अवस्थामा काठमाडौं लगिएका नवलपरासी जिल्ला सुस्ता गाउँपालिका वडा नम्बर ५ का ६५ वर्षका रमाशंकर सिंह र ३० वर्षका बच्चु रामको ज्यान गएको हो । रमाशंकरको ट्रमा स्टार अस्पतालमा र बच्चुको ट्रमा सेन्टरमा ज्यान गएको हो ।  

काठमाडौंबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका लागि छुटेको लु २ ख ६६३० नम्बरको यात्रुबहाक बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित सडकबाट झण्डै १ सय मिटर तल खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा ३१ जना घाइते भएकोमा उपचारका लागि ८ जना काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको थियो । अहिले ५ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने १ जना ट्रमा स्टारमा, ४ जना गजुरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  प्रहरीले जानकारी दिएको छ ।

सरकारीमा पठाइएका घाइते निजीमा लगिएपछि

राति दुर्घटना भयो । ठूलो दुर्घटना भएपछि सबै एम्बुलेन्सलाई खबर भयो । एम्बुलेन्समध्ये रेडक्रसको, गजुरीको लगायतका एम्बुलेन्सले घाइते बोक्न आए । राति आएका एम्बुलेन्सहरुलाई सबै विरामीलाई काठमाडौंको वीरअस्पताल तथा सोही अस्पतालको ट्रमा सेन्टरमा लैजानका लागि प्रहरी र ट्राफिक प्रहरीले पठाएका थिए । 

दुर्घटनाको खबर सुन्ने वित्तिकै आइपुगेका एम्बुलेन्सहरु निजी अस्पतालमा लैजानका लागि आतुर हुने गरेको र सरकारीमा लैजान भन्दाभन्दै कमिसनको लोभमा निजीमा लाने गरेको राजमार्गका उद्धारकर्ता राममणि थपलियाले बताउनुभयो । 

थपलियाले केही दिनअघि सडकदुर्घटनाका घाइतेलाई वीरअस्पताल लान एम्बुलेन्समा पठाइएकोमा निजीमा लगेर कमिसन लिएको जानकारी दिँदै राजमार्गमा आउनेमध्ये धेरैजसो एम्बुलेन्सहरुले निजीतर्फ लाने गरेको खुलासा गर्नुभयो । 

एम्बुलेन्स चालक र निजी अस्पतालको कनेक्सनका कारण प्रहरीले भन्दा भन्दै पनि निजीमा लगेर विबामी छाड्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धुबराज राउतले बताउनुभयो । 

एम्बुलेन्स चालकहरुले दुर्घटनामा बिरामी तथा अन्य बिरामी निजी अस्पतालमा पुर्यायो भने उनिहरुलाई न्यूनतम १ हजार रुपैयाँ निजी अस्पतालले उपलब्ध गराउने गरेको र उपचार खर्च धेरै लाग्ने बिरामी अनुसार एम्बुलेन्स चालकले कमिसन पाउने भएकोले निजी अस्पतालमा लाने गरेको खुलेको छ । 

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments