Hamro patro Local 03

समाज

जनकपुरमा फागुनदेखि रेल चल्ने, कागजमा तयार छ रेल सञ्जालको जालो

Posted: Tuesday, Sep 12, 2017 12:37 PM ( 2 months ago )

Total Hits: 10.2 K

Share This

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं,  भदौ २७ – नेपालमा रेल चलाउने विषय अहिलेसम्म पनि मजाक बन्दै आएको छ । नेपाल आफैले पनि रेल बनाउन नसक्ने र छिमेकी देशले बनाइदिन्छु भनेका योजनामा पनि नेपाल सरकारले चासो नदिएकोले अहिलेसम्म रेल कुदाउने विषय मजाक बन्दै आएको हो । विगतमा जनकपुर जयननगर चल्ने रेल पनि केहि वर्षदेखि बन्द छ । निर्माणमा हुँदै आएको ढिलाइ र भएका संरचनाको पनि मर्मत सम्भार गर्न नसक्ने भएकैले नेपालमा रेल चल्छ भन्दा सर्वसाधारणदेखि विज्ञसम्मले मजाक ठान्छन् । 

तर सानो सानोको खण्डमा भएपनि रेल चलाउनेगरि अहिले रेलमार्ग निर्माणको काम भने भैरहेको छ । खासगरी २०६१ सालमा रेल विभागको स्थापना भएपछि रेलमार्गको अध्ययन र निर्माणको काम भइरहेको छ । तर यो काम निक्क सुस्त गतिमा छ । 

अध्ययनको काम नेपाल सरकार आफैले गरिरहेको छ । निर्माणको काम भने एकतिरबाट भारतले र अर्कोतिर नेपालले गरिरहेका छन् ।

भारतले गरिरहेको रेलमार्ग निर्माणको काम 

विगतमा चल्दै आएको जनकपुर जयनगर रेल नेपालको कमजोर व्यावस्थापनले बन्द भयो । त्यसपछि भारसँग फेरि रेल बनादिन आग्रह गर्‍यो । सुरुमा जयनगरदेखि जनकपुरसम्म मात्रै रेल बनाइदिने भने पनि भारतले जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर रेलमार्ग बनाइरहेको छ । जयनगरदेखि कुर्ता भन्ने ठाउँसम्मको ३५ किलोमिटर खण्डमा फागुनसम्ममा रेल चलाउन मिल्नेगरि काम भइरहेको छ । यदी नेपालले रेलको इन्जिन र डिब्बाको जोहो गरेमा फागुनदेखि कुर्तादबाट जयनगरसम्म रेल चलाउन सकिनेछ । त्यस्तै भारतले नै बनाइदिने कुर्तादेखि बर्दिवाससम्मको बाँकी ३५ किलोमिटर पनि एक÷डेढ बर्षमै रेल चल्न सक्ने छ । 

‘विश्वमै सबैभन्दा ठुलो रेलसञ्जाल भएको देशमध्ये भारत पनि एक भएकाले सानातिना आयोजना उनीहरुले एकबर्षभित्रै सक्छन्’, रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले उज्यालो अनलाइनसँग भन्नुभयो ‘कुर्तादेखि बर्दिबाससम्म पनि जग्गा अधिग्रहण लगायतका काम भैरहेका छन्, उनीहरुले यसै वर्ष निर्माण सम्पन्न गरिसक्छन ।’ 

जयनगरबाट बर्दिबाससम्मको रेलमार्ग बनाएपछि भारतले दोस्रो चरणमा भारतको जलपाइगुडीबाट काकडभिट्टासम्म, नौतनुवाबाट भैरहवासम्म र भारतको नेपालगञ्जरोडबाट नेपालगञ्जसम्म पनि रेलमार्ग बनाउने प्रतिबद्धता जनाएको छ । काकडभिट्टा, भैरहवा र नेपालगञ्जसम्म आइपुगेका रेललाई नेपालले भित्रसम्म फैलाउन सक्ने छ ।

नेपालले गरिरहेको रेलमार्ग निर्माणको काम

नेपालले पनि पूर्व मेचीबाट पश्चिम महाकालीसम्म ९ सय ४५ किलोमिटर लामो रेलमार्ग बनाउने योजना अघि सारेको छ । पहिलो चरणमा सरकारले बर्दिबास सिमरा खण्डमा १ सय ८ किलोमिटर रेलमार्ग बनाउने योजना अनुसार काम भइरहेको छ । बर्दिबासबाट सिमरा तर्फको २५ किलोमिटर खण्डमा रेलमार्ग बनाउने काम ९० प्रतिशतसम्म सकिएको छ । ९ वटा प्याकेजमा भैरहेको यो खण्डमा ८० प्रतिशतदेखि अधिकतम ९० प्रतिशतसम्म काम सकिएको छ । 

बर्दिबास सिमरा १ सय ८ किलोमिटर खण्डको  लालबन्दीदेखि निजगढसम्म थप ४० किलोमिटर खण्डको ठेक्का दिने र पुलको निर्माण यसै आर्थिक वर्षम थाल्ने रेल विभागको तयारी छ । रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले भन्नुभयो, ‘यो वर्ष थप ४० किलोमिटर रेलमार्ग निर्माणका लागि हामीले टेन्डरको आह्वान गर्ने तयारी गरेका छौं ।’

लालबन्दी क्षेत्रका बासिन्दाले मुआब्जाको विषयमा विवाद गरेकाले अवरोध भइरहे पनि त्यसलाई छिट्टै समाधान गरिने उपाध्यायले बताउनुभयो । 

रेलमार्गको लागि भैरहेका अध्ययनका काम 

एकातिर निर्माणको काम चलिरहेको छ भने अर्कातिर अध्ययनका काम पनि भैरहेका छन् । झापाको काकडभिट्टादेखि कैलालीको गड्डाचौकीसम्म ९ सय ४५ किलोमिटर रेलमार्ग बनाउने योजना अनुसार अहिले चोरमारा, बुटवल हुँदै लुम्बिनी र भैरहवा चल्ने रेलमार्गको डिपिआर तयार भैसकेको छ । बर्दिबास सिमरा १ सय ८ किलोमिटर, सिमरा तानसरिया (चोरमारा) १ सय २७ किलोमिटर र तानसरिया बुटवल ६४ किलोमिटरको विस्तृत आयोजना प्रतिवेदन डिपिआर तयार भैसकेको छ । 

यस्तै पश्चिममा बुटवल लमही १ सय १५ किलोमिटर, लमही कोहलपुर १ सय २ किलोमिटर, कोहलपुर सुख्खड ९५ र सुख्खड गड्डाचौकी ९४ किलोमिटरका ४ वटा खण्डको पनि २ महिना अघिदेखि काम भैरहेको छ । अहिले चिनियाँ र कोरियन इन्जिनियरको टोलीले वातवरणीय अध्ययन गरिरहेको छ । केहि दिनभित्रै टोली फिल्डमा खटिने विभागले जनाएको छ । 

बार्दिबास पूर्वमा बर्दिबास इनरुवा १ सय ३७ किलोमिटर र इनरुवा काकडभिट्टा १ सय ३ किलोमिटर गरी २ सय ४०  किलोमिटर खण्डको पनि अध्ययनको काम कात्तिकभित्र सकिनेछ ।

काठमाडौं–वीरगञ्ज र काठमाडौं–पोखरामा पनि रेल

यस्तै काठमाडौंबाट वीरगञ्जसम्म विद्युतीय रेलको सम्भाव्यता अध्ययन गर्न कन्सलटेन्ट छनौटको प्रक्रियामा छ विभाग । यो आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सकिने विभागले जनाएको छ ।

यस्तै काठमाडौं–पोखरा १ सय ८७ किलोमिटर रेलमार्गको पनि सम्भाव्यता अध्ययनको क्रममा छ । यस्तै निक्कैचर्चामा रहेको रसुवागढीबाट काठमाडौं र पोखरासम्म रेलको सम्भाव्यता थाल्न पोहोर नै रेल विभाग तात्तिएको थियो । चीनले बनाइदिने इच्छा राखेकोले अहिले यसबारेमा दुई देशबिच कुरा भैरहेको छ ।

यस्तै काठमाडौं उपत्यकामा ५ वटा लिंकको पहिचान गरेर मोनो मेट्रो रेलको सम्भाव्यता अध्ययन सकेर लगानी जुटाउन सबै फाइल लगानी बोर्डमा पठाइएको छ । सम्भाव्यता अध्ययनको क्रममा सातदोबाटो, रत्नपार्क नारायणगोपालचोक १२ किलोमिटर, कीर्तिपुर, कालिमाटी, नयाँबानेश्वर हुँदै त्रिभुवन विमानस्थल ११ किलोमिटर, चक्रपथ २८ दशमलव ५३ किलोमिटर, स्वयम्भू, डिल्लीबजार हुँदै बौद्ध ११ किलोमिटर र धोबीघाटबाट सिंहदरबार, नक्साल हुँदै गंगबु १८ किलोमिटरको रेलमार्गको लागि सम्भाव्यता अध्ययन भएको विभागले जनाएको छ ।

कुरा धेरै, बजेट थोरै

रेल बनाउने योजना धेरै भए पनि सरकारले बजेटमा भने साह्रै कन्जुस्याईँ गर्दै आएको छ । रेलमार्ग बनाउनेदेखि रेल कुदाउनेसम्मका काम गर्दा एक किलोमिटरका लागि झण्डै ४० करोड रुपैयाँ चाहिन्छ । तर सरकारले पोहोर दुई अर्ब रुपैयाँ मात्रै रेलमार्गको लागि छुट्टयाएको थियो । रेल विभागका कर्मचारी कि त रेलको लागि बजेट बढाउनुपर्ने होइन भने रेल विभागकै औचित्य नहुने बताएपछि सरकारले यो आर्थिक वर्षमा ४ अर्व रुपैयाँ बजेट छुट्टयाएको छ । १० वर्षभित्र पूर्व मेचीबाट पश्चिमको महाकालीसम्म रेल कुदाउने हो भने वार्षिक ३५ अर्ब रुपैयाँ बजेट चाहिने रेल विभागको अनुमान छ । 

यस्तै बजेटसँगै रेल सम्बन्धी इन्जिनियरको पनि अभाव छ । ‘हामीकहाँ रेलको लागि बन्ने संरचनादेखि मेसिनको नटबोल्ट कस्ने जनशक्तिको पनि अभाव छ, सडक विभागका इन्जिनियरले जानी नजानी रेलमार्गको काम गर्नुपरेको छ’ विभागका प्रवक्ता उपाध्यायले गुनासो गर्नुभयो  ।

 

उज्यालोको Android Mobile Application निशुल्क डाउनलोड गर्नुहोस् र उज्यालो रेडियो र उज्यालो अनलाइनका कार्य्रकम, खबर आफुले चाहेको बेला सुन्नुहोस, पढ्नुहोस् ।

Comments